फागुन, पर्सा ।
‘पर्सा जिल्लाको तस्तो गाऊँ जहाँ सिटामोल किन्न दिनभर लाग्छ’ सुन्दा अपत्यार लाग्न सक्ला तर देशकै आर्थिक भारको जिम्मेवारी सम्भालेको पर्सा जिल्लाकै शिकारीबासको कथा निकै दयनीय छ ।
पर्सा जिल्लाको ठोरी गाऊँपालिका वडा नम्बर ३ मा रहेको यस गाऊँमा हाल सम्म सरकारी निकायको उपस्थिती पुग्न सकेको छैन् ।
वीरगन्ज ठोरी हुलाकी सडक खण्डको ७ किलोमिटर उत्तर निकुञ्ज जंगलको बीचमा रहेको यो गाऊँ सदरमुकाम वीरगन्जबाट करीब ५८ किलोमिटर दुरीमा अवस्थित छन् । पर्साको क्षेत्र नं ४ अन्तर्गत पर्ने यो गाऊँमा ५२ घरधुरीमा करीब २ सय ७० जनसंख्या रहेको छ ।
वीरगंज ठोरी सडकसंग जोडिएको गोरेटो बाटो नै गाऊँ आवागमनको एक मात्र बाटो रहेको छ । आवागमनमै समस्या भएका कारण यस विकट बस्तीमा स्वास्थ्य चौकी, खानेपानी, सडक, बिजुली बत्ति, सिंचाई जस्ता सधारण सेवा सुविधाहरु समेत अझै पुग्न सकेको छैन ।
२००९ साल देखि यो विकट बस्तीमा बसेका ७८ बर्षिय नारायण अर्यालयले बाल्यकाल देखि बयोवृद्धकाल सम्म गरी सम्पूर्ण जीवन काटी सकेपनी सरकारको कुनै उपस्थित नरहेको चिन्ताले पिरोल्ने गरेको उनले दुखेसो पोखे । ‘जँुगाको रेखी नबस्दै बस्ती छिरे कपाल सेताम्ये भईसके तर सरकार कहाँ छन् ?’ अझै यहाँका नागरिक अनुभव गर्न नसकेको उनले गुनासो गरे ।
दुर्गममा पर्ने यो गाऊका अधिकांश व्यक्तिहरु निरक्षर छन् । हालसम्म सरकारको नाममा एकवटा मात्रै प्रथमिक विद्यालय छ । साक्षरले पनि गाऊँमै ५ कक्षाभन्दा माथि विद्यालय नभएकाले पढन पाऊँदैनन् । त्यसमापनी दुईवटा मात्रै शिक्षक र नियमित नआउने समस्याले स्तरीय शिक्षा बालबालिकाहरु पाउन सकेका छैनन् । शर्वशुल्भ शिक्षा, स्वास्थ्य पाउने उनिहरुको नैशर्गिक अधिकार भएपनी यि यस्ता सेवा सुविधाबाट यहाँका स्थानीयहरु बर्षौदेखी बञ्चीत रहेका छन् ।
४५ बर्षिय स्थानिय बमभोला महतोले भने, बर्षको पहिलो दिन अर्थात वैशाख १ गते गोठालो जादाँ भालुले आक्रमण गरेर दाहिने खुट्टामा चोट बनाई दियो । रातभरी छटपटाए विहान मात्रै उपचार गराउन सदरमुकाम वीरगंज पुगेर उपचार गराएर फर्के । उनले भने, समान्य दैनिकी जीवन यापन गर्ने सेवासुविद्या वेगर, वन्यजन्तुसंग कति पौठेजोरी खेलेर बस्ने ? न शरिरको सुरक्षा छ, न घर र न त बालीनालीको ! यस्तो अप्ठेरो र असहज जीवनबाट मुक्ति दिलाईदिन समपन्न दुबै निर्वाचनमा भोट माग्न आउने प्रत्येक उम्मेदवारसंग सिकारिबास स्थानन्तरण गर्न हामीले गुहार मागेको महतोले बताए । तर विग्तका दिन झै यसवर्षपनी केवल भोट माग्न आउदाँ हाम्रा पिडा र गुनासो सुनेर भोट लिने र शिकारीबास बासिन्दाको पिडा भुल्ने नियत होला की भनेर चिन्ता हुने गरेको अर्की स्थानीय फुलमती देवीले बताईन् ।
अन्कन्टार बस्ती भएकाले कोही पाहुना आई हाले हामीलाई भगवानै आए जस्तो लाग्छ, उनी भन्छिन् रात विरात कोही कसैलाई रोगले पिरोले पुरै गाऊँ (आगो बालि (मशाल)) विरामीलाई डोकोमा बोकी पुरै जङ्गल पार गरी सुवर्णपुर स्वास्थ्य चौकीमा लग्नुपर्ने बाध्यता छ । गतवर्ष आएको बाढीले गाऊँको २५÷३० जना किसानको धानबाली नष्ट गर्यो । तर राहतको नाममा केही पाएनौँ । बाढीले चल्नचल्तीमा रहेको पैदलबाटोमा समेत पुरै नदीको पानीले बालुवा खन्याईदिएपछी आउने जाने मार्ग निकै कठीन भएको छ, जसले गर्दा सुवर्णपुरसम्म पुग्ने दुरी अझै बढेको अर्की स्थानीय धनिया देबीले बताईन् ।
जितेर गएका नेताहरुको दर्शनै दुर्लभ हुने यसवस्तीमा गतवर्ष क्षेत्र नं ४ का निवर्तमान सांसद जयप्रकाश थारुले आफ्नो सांसदिय विकास कोषको रकमबाट ५ वटा सोलार जडान गराई दिएका छन् यस सोलारले समेत जाडो मौसममा बल्न छाडेकाले जङ्गली जनावरको त्रास अझै बढेको स्थानीयहरुले गुनासो गरे ।
गाऊँमा खाने पानी सुविधा छैन । स्थानीयले खाने पानी ल्याउन डोहरम खोला पुग्नुपर्ने बाध्याता छ । ज्वरोले थलिए मात्र पनि सिटामोल लिन दिनभर पैदल हिडनुपर्ने बाध्यता छ । शिकारी खेल्न शिकारीवासमा आएका राजा महेन्द्र रात बसेको यस यस एतिहासिक ठाऊँमा बर्षौदेखी बसोबास गर्दै आएका यहाँका स्थानीयहरुलाई स्वास्थ्य, खानेपानी, विजुलि बती, बाटोघाटोको व्यवस्था गराउन जरुरी देखीन्छ । कि त नेपाल सरकारले एक ताका वस्ती नै स्थानान्तरण गर्ने घोषना गरे अनुरुप बस्ती अन्यत्र स्थानान्तरण गर्नुपर्दछ ।