दुईको मृत्यु, दुई घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं : वीरगञ्जस्थित सुपर ग्यास प्लान्टमा भएको आगो नियन्त्रण बाहिर गएको छ। दमकलले आगो निभाउने प्रयास गरे पनि ग्यास बलिरहेकोले आगो नियन्त्रण गर्न नसकिएको सुरक्षाकर्मीले जनाएका छन्।

बुधबार बिहान ६ बजेदेखि सल्किएको आगो पाँच घण्टा पुगिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउन गएको वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र जलेर ध्वस्त भएको छ भने दमकलमा रहेका दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ। अन्य दुई अग्नि नियन्त्रक आगोमा जलेर गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

आगो निभाउने क्रममा घाइते भएका वीरगञ्ज नगरपालिकाको वारुण यन्त्रका अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई स्थानीय वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए। आगलागीमा थप अर्का एकजना पनि घाइते भएका छन्।

बिहान करिब ६ बजेबाट सल्किएको आगोका कारण ग्यास प्लान्टमा ट्यांकरहरू पड्किएको आवाज आएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। पानीले आगो निभाउन नसकिएको अग्नि नियन्त्रकहरूले जनाएका छन्।

प्रहरीले घटनास्थलको एक किलोमिटर आसपास बस्ती खाली गर्न माइकिङ गरेको छ।

दुईको मृत्यु

वीरगञ्ज महानगरपालिका २२ स्थित पटेलनगरमा रहेको ग्यास प्लान्टमा भीषण आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा भएको आगलागीमा दुईजनाको मृत्यु भएको हो।

वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख शेरबहादुर कार्कीले आगो निभाउन गएका आफ्ना दुई कर्मचारीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार यादवप्रसाद अधिकारी र मधुसुधन मिश्रको आगलागीमा ज्यान गएको हो।

थप दमकल जानै सकेनन्

आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र भारत सरकारको अर्को एक दमकल भीषण आगलागीका कारण घटनास्थल जान सकेका छैनन्।

उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पुगे पनि आगोका कारण उनीहरू पनि दुई किलोमिटर वर नै रोकिएका छन्।

ग्यास भण्डारण भएको स्थलमा आगो बलिरहेकाले पानीले पनि आगो निभाउन नसकिएको वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख कार्कीले बताए। घटना हुँदा ग्यास प्लान्टमा कति मानिस थिए खुल्न सकेको छैन।

Published By – Annapurna Post