समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ। कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो।

मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया। अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ। काठमाडौंबाट पहिलो चोटी रारा ताल घुम्न आएका बिशाल हमालले पनि यस्तै अनुभव गरे।

मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन् अचेल। २०६९ साल पुस १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा यसको एकवर्ष पछि नियमित रुपमा गाडी चल्न थाल्यो।